07:30:10 am 03-Jul-2022

लाईसेन्सको ट्रायल एक भुक्तभोगीको अनुभव


लाईसेन्सको ट्रायल एक भुक्तभोगीको अनुभव

प्रमिला तामाङ्ग ६ असार , काठमाण्डौं ।  

(फुर्सद र रुचि हुनेले पढिदिनु होला, कतै तपाई पनि यसभित्र पात्रको रुपमा त हुनु हुन्न….)

लोकसेवा पास गर्नु जतिकै चुनौती थियो ट्रायल पास गरेर लाइसन्स निकाल्नु, कम्सेकम मेरो लागि। फुर्सद भइन्जेल नतात्तिने मेरो बानी, जैलेई जे मा पनि “जब त राती बुढी ताती”। एक हप्ता अगाडि गएर एक हप्ता पछाडिको लागि ट्रायल मिति तोकेर आए पनि तयारीको नाममा भुत्लोभाङ केई पनि थिएन। ट्रायल इन्स्टिट्युटमा दुई हप्ताको आधा घण्टे कोर्स लिए पनि एक हप्ता त ठूलो एट घुमाउदैमा वित्यो, त्यै पनि खुट्टा झरेको झरेई…पर्फेक्ली कम्प्लिसन त कैलेई नहुने।

सिकाइको दोस्रो हप्ताबाट सानो एट अर्थात स्कुटर बाइककै एटमा कोशिष शुरु भयो, ४\५ दिन सम्म पनि सिकाइको अनुपात एउटै रहिरह्यो। घरि हुत्तिएर एटको घेरा भन्दा बाहिर….घरि एक्सिलेटर दवाउन बिर्सिएर पल्टिन खोजिहाल्ने… घरि राइट टर्न गर्न खोज्दा हात र जिउ कक्रिएर स्कुटरको ह्यान्डल नै कन्ट्रोल नहुने….गाला र कान तात्तिएर रातो रातो भएर…पसिनाको त कुरै छाँडौं….ओ माइ गड कत्रो सास्ती मलाई।…यस्तै अनेक जात्राको क्रम चल्दो थियो। कन्फिडेन्स र सिकाइको लेवल रत्ति नबढ्ने… आज नि उस्तै, भोली नि उस्तै.. के भाको होला मलाई..मै मात्र कस्तो लद्दु! दुनियाले चलाएर हिंडेको कुरा मलाई चै आफैले उचालेर हिंड्नु परेको जत्तिकै हुने।

उकालो, ओरालो, स्पिड ब्रेकर, यु टर्न, लाईट जेव्राक्रस त निकै परका कुरा थिय मेरा लागि… मलाई त एटले नै उक्सिन देकै थिएन। हातका औलाहरु र पाखुरा…कम्मरदेखि तल सब दुखेर छोइसक्नु थिएन….रै पनि प्रगति भने शुन्यकै अनुपातमा छ भन्ने पिरलो एकातिर, अर्कातिर लाइसन्स ननिकाली नहुने वाध्यता अर्कोतिर…। असार महिनामा किसानलाई चटारो भएझैं र आर्थिक वर्षको अन्त्यमा कर्मचारीलाई चटारो भएझैं साँच्चिकै मलाई नि यै असारमा ठुलो चटारो थियो, मैले सिक्नेई बेलामा आकाशलाई पनि आतुर थियो झरी बर्साउन…. अफिसमा एउटा स्कुटर थियो, मसँग लाइसन्स थिएन…लाइसन्स छैन भनेर मलाई कुर्ने कुरा पनि भएन…यावत चुनौतीका बीच जसरी हुन्छ एकै पटकमा ट्रायल पास गर्नु थियो।

२०७९|०३|०२ विहिबारका दिन अर्थात भोली मेरो भाग्य परीक्षा हुने वाला छ। बुधबार ढिलो बार भएकाले बालेनले जस्तै दिन बार र साइत मिलाएर ट्रायल मिति तोकिएको थियो त्यसैले कर्मलाई भन्दा बढी भाग्यलाई नै भरोसा गरियो यसपाली। तयारीको नाउँमा देव्रेपटिका कुइना, घुँडा र गोलीगाँठामा धस्रिएको घाउ बाहेक केही थिएन तै पनि हतास मन पनि थिएन…जे पर्ला त्यै टर्ला।

ट्रायल परीक्षाको अघिल्लो दिन २ बजेतिर राधे राधे ट्रायल सेन्टरमै गएर सिक्न भनेर अफिसबाट निस्किएँ

म पुग्दा गाडीको ट्रायल भैराथ्यो…एक पछि अर्को फेल हुँदै बाहिरिदै गरिरहेका थिए…त्यो परिवेश देख्दा आफ्नो नि भोलि त्यै हालत हुने वाला छ भन्दै मुटुले धड्कन बढाउन थाली हाल्यो। ४ बजेतिर ट्रायल परीक्षा सकिए पछि ६ बजेसम्म शुल्क लिएर प्राक्टिस गर्न मिल्दो रहेछ रियल ट्रायल हुनेइ ठाउँमा। आधा घण्टाको ६०० र १ घण्टाको १००० रुपैयाँ। १ घण्टाको प्याकेज किनियो र शुरु भयो प्राक्टिस्। जति पटक एटमा घुम्न शुरु गर्यो तेति पटक कोल्टो परिहाल्ने स्कुटर..थोरै एक्सिलेटर दवाउदा पनि स्पिड लेवल बढि भएर घेराभन्दा बाहिर उछिटिने मात्र भैराथ्यो..१५\१६ जनाको लर्को…बल्ल बल्ल एक पटक एट घुम्ने पालो आउँदा पनि खुट्टा झरि हाल्ने, अब त पक्का खुट्टा झार्दिन भन्यो झरिहाल्ने…के चै गर्नु होला…उफ्…..।

स्कुटरलाइ नै दोष दिराथें मः “के भाको होला ह्वात्तै गैहाल्छ।“ पछाडिकालाई मबाट डिस्टर्ब भैराको स्पष्टै बुझिन्थ्यो, उनिहरु नाक खुम्च्याउदै थिए, आफु रातो पिरो अमिलो सबै भैयो तै पनि एट पार लाग्ने छाँटकाँट थिएन, गाइड गर्न उभिएको केटोको गाली पनि खाईयो। एटमा शुरुमै छिर्दा छिर्दै पनि र एटबाट बाहिरिदा पनि उतिकै कन्फ्युज, लाइट पनि समस्या लाग्थ्यो हैन रहेछ, साँघुरो बाटो फेरि उस्तै सास्ति… कति चोटी साँघुरो बाटोको ट्रयाकबाट बाहिर फुत्किहाल्थें,,,साइड लाइट पनि निकै गाह्रो स्टेप लाग्थ्यो हैन रहेछ…सजिलै बाल्न थालें साइड लाइट त…स्पिड ब्रेकर र उकालो ओरालो पनि सहज लाग्यो बरु….एटले नै मलाई पल्टाइरह्यो। १ घन्टा त ५ राउन्ड पनि नलगाई बित्यो २०\२२ जनाको पालो पर्खिदा।

ट्रायल परिक्षाको दिन विहान ५;३० मै पुगियो प्राक्टिसको लागि…सम्भव त सबै भन्दा पहिले मै पुगे त्यहाँ। ९७६ नं. को स्कुटर स्टार्ट गरें। शुरु भयो १००० मा १ घण्टाको प्राक्टिस। दिउसो ट्रायल हुनेहरुको भिंड भटाभट बढ्न थाल्यो करिब २०\२२ जनाको हाराहारिमा लाम लागियो र प्राक्टिस शुरु भयो।

पहिलो राउण्डमै एट कट्यो…चमत्कार भए जस्तै लाग्यो मलाई…ओ माई गड…सो एक्साइडेड…खुसिको सिमा रहेन। केई होला जस्तो छ आज…आशाको त्यान्द्रो लहरामा परिणत भयो। साँघुरो बाटोमा फेरि पनि फुत्किएँ…ह्यान्डल सिधा पार्नै सकिरहेको थिइन। अरु त सहज रुपमा कटाउदै गएँ। फेरि एट छिर्ने पालो आयो, साइडमा उभिरहेको गाइड गर्ने सहयोगी फुच्चे केटोले एक्कासी मेरो हत्केला समात्दै भन्यो “यो ब्रेक समातेको मिलेकै छैन, यसरी झ्याप्प समात्ने हो के”, मेरो हात छोइएको मलाई असहज फिल भए जस्तो लाग्यो, उस्तै मस्सुर केटीले भए त थप्पड लाउथ्यो होला मैले स्वभाविकै लागेर उसको निर्देशनलाई फलो गर्दै गएँ।

एट छिर्ने पालो कुरिराथें..अघिको फुच्चेले केई बोले जस्तो लाग्यो “नाम के हो?” १ घण्टाको समयावधी सकियो कि भनेर बुझ्न रैछ। “प्रमिला तामाङ, टाइम सकेको होर ?” मैले सोधें। “हैन हैन, कति राम्री मान्छे हौ” रे मलाई, म तिन छक परें। के भन्छ यो केटो…सोंच्दै रहें। कुनै उत्सुक्ताको विषय त थिएन मेरो लागि… तै पनि अनौठो पनि लागिराथ्यो। फेरि पनि एटमा आइपुग्दा उसले खूब हुटिङ दिराथ्यो मैले एट कटओस् भनेर। आत्मबल बढे जस्तो पनि लागिराथ्यो। म ओरालोमा व्रेक लगाउँदै थिएँ…”स्कुटर रोकी सकेपछि खुट्टा हल्लाउने हैन के लाटी एकै ठाउँमा अड्याउने हो” त्यै केटो आईपुगेछ फेरी…तपाइलाई हाँस उठ्यो? म त झन्डै मुर्छा परेको…उमेरले २० पनि कटेको नहुँदो हो, काले.. जिंग्रिंग परेको लुरे… च्याँसे केटो…मुस्कान चै ठिकैको, कहाँको म ३०\३५ उमेरको…म मा कुनै आक्रोस, आपत्ति, लज्जा केई महसुस भएन बरु सद्भाव जाग्यो उ प्रति, उसले तेति भन्दैमा मैले उसको नामको छोरो जन्माउनु पर्ने पनि त हैन, सानैमा विवाह भएको थियो भने उ जत्रो त मेरो छोरो नै हुन्थ्यो होला, विचरा…निर्दोष केटो, कमसेकम मसँग जिस्किने तेत्रो आँट रहेछ।

एट छिर्नु अघि झन्डै २ मिनेट कुर्नु पर्ने पालोको लागि। त्यो फुच्चे फेरि पनि मेरो छेवैमा आएर बोल्न थाल्यो “कति राम्रो लिपिस्टिक”…..आफुलाई लाइसन्सको भुत चढ्या बेला त्यो फुच्चेलाई जिस्किने मुड चलिराको जस्तो लाग्यो। “पास हुन्छौ क्या टेनसन नगर” रे फेरि….कस्तो हाँस उठ्यो। यै मौकामा मैले उसलाई भने “तिमिले चिनेको ट्राफिकलाई भन्देऊ न आज मेरो ट्रायल छ के।“ यति के भनिसकेको थियँ, उस्को जवाफ-“यति कुरामा नि टेनसन लिने हो म छैन???भरे म यै हुन्छु के कुरा बुझिनौ?? लिपिस्टिक चै यै लायर आउनु नि फेरि?” रे। मैले हाँस्दै ओके ओके भन्दिएँ।

अब उस्ले मलाई एट, लाईट, साँघुरो बाटो, यु टर्न, उकालो ओरालो सबैतिर गाइड गर्न थाल्यो। मलाई नि उ प्रति झिनो आस लाग्न थाल्यो र पटक पटक भन्दै गएँ- “भरे मलाई जसरी नि पास गरेको लाइसन्स चाइयो नि”, उसले नि दोहोराउदै गयो “मलाई नम्वर चाहिन्छ, पास भएपछि त्यसै जान पाइदैन।“ नम्वर दिदैमा के जाला र दाउ छोप्नुछ आफूलाई, हैरानै लायो भने ब्लक गर्ने अप्सन छदैछ भन्ने लाग्यो र भन्दिएँ “ दिहाल्छु नि”।

यस्तै क्रमले २००० तिरेर २ घण्टा सिकियो। कति चाडो समय बित्यो, समय र पैसा दुवैको महत्व बुझ्ने अवसर पनि मिल्यो। ११ बजे आजै ट्रायल परिक्षा हुनेवाला छ, फटाफट घरतिर लागेँ पव्लिक बस चढेर। जडिबुटीमा ओर्लेर आकाशे पुलतर्फ लाग्दै गर्दा भुइमा हात थापेर बसेको माग्ने मान्छे देखें, मैले यहि अवसर खोजीरहेको थिएँ, कसैलाई दान धर्म गर्न पाए फलिफाप हुनेथ्यो कि भन्ने, दुई जना रैछन् २० रुपैयाका दरले दान गरें। मान्छे कति अवसरवादी हुन्छ, परेको बेला मात्र दान धर्मको कुरो आउँछ, आफैलाई उदाहरणको रुपमा लिएँ।

घर पुगेर हतारिदै खाना खाइसके पछि राशिफल हेर्ने महत्वपूर्ण काम बाँकी नै थियो। युटुबमा गएर हेर्दा पहिलो लाइनले नै निराश बनायो –“योजना एकातिर, परिणाम एकातिर हुनेछ” रे। हिजो र आज मात्र सकाको ३००० स्वाहा हुने लक्षण देखियो। तै पनि सुन्दै गएँ कुनै लाईन राम्रो थिएन, अन्त्यमा भनिएको थियो “आमालाई सम्झेर काम गरेमा राम्रो फल प्राप्त हुने।“ हतार आमालाई फोन गरिहालें र भने “आज मेरो लाइसन्स परिक्षा छ।“ आमालाई साथि जस्तै लागेर कैलेई नमस्ते नगर्ने मान्छे आज त ममी नमस्ते रे आफैलाई लाज लाग्यो। “हो र ल ल राम्रोसँग दिनु, पास भयो भनेको सुन्न पाइयोस्“ रे ममीले।

मलाई कतिखेर ट्रायल सेन्टर पुग्ने भन्ने नै आतुरी थियो। आज अनुहारको मेकअपलाई भन्दा बढि धर्मकर्म र राशिफलमै प्राथमिकता दिएँ। कपाल पनि नकोरी आजको शुभ रङ सेतो भएकाले बुनुले दिएको सेतो जुत्ता लगाएर हिजो बेलुका नै तयार पारेको दही एक चम्चा खाएर टाप ठोकें।

ट्रायल सेन्टरमा मान्छेहरु भेला भैसकेका थिए। मुटुको धड्कन बढ्दो थियो। पानी किनेर खाएपछि अलि शितल भयो, समुहमा मान्छेहरु अनेक अनेक त्रास र भ्रम फैलाईरहेका थिए। कसैको कुरा नसुनेझैं गरी सिद्धि विनायकको मन्त्र जप्न थालें म। ट्रायल शुरु हुन थाल्यो…एक नं फेल. भन्ने चर्को आवाज, ४\५ जना ट्राफिकले एकैचोटी फिरिर्र सिठी फुक्दा जो कोहीको सातो उड्ने सम्भावना उतिकै थियो। म संयमित हुँदै थिएँ। मेरो नजर एक्कासी विहानको फुच्चे केटो तर्फ मोडियो, मैले पत्याकै थिइनं त्यो केटो त्यही हुन्छ भनेर, साँच्चिकै ट्राफिकहरुसँगै उभिराथ्यो ट्रायल हुने ठाउंमा, पछुतो लाग्यो विहान केटोलाई राम्ररि भनेको भा त मिल्थ्यो रछ नि।

मैले निकै आशावादी हुँदै उतिरै नजर लाईरहें। नपत्याउदो पाराले उ मतिरै आईराथ्यो, मैले उत्सुकता जनाउदै सानो स्वरमा उसलाई भने “ सि.नं. १३, है….” इशारा गरेको गरेई गरें मैले। पहिलो पटक कसैलाई भनसुन लगाको अनुभव भैराथ्यो मलाई, ऊ बाट नि पोजिटिभ सिग्नल आइराथ्यो। मलाई निकै कन्फिडेन्ट लेवल बढिराथ्यो। हाम्रो पालो आयो, एक पटकमा ५ जनाको समुहलाई स्कुटर दिएर पालैपालो गराइदो रछ। म ५ नं. स्कुटरमा परें, १, २, ३, ४ सबै फेल भए। मेरो सातो उडिसकेको थियो र अन्तिम प्रार्थना यहि थियो कि हे भगवान स्कुटरले धोका नदिओस।

मेरो ध्यान ट्राफिकतिर भन्दा पनि ऊ तिर मात्रै थियो। कहाँ उभिराछ आँखाले खोजीरह्यो। मेरो पालो आएपछि ट्राफिकले सिठी बजायो। म श्री गणेशाय नमः भन्दै एटभित्र प्रवेश गरें। एक्सिलेटर हलुका दबाउदै ह्यान्डल कन्ट्रोल गर्दै घुम्दै जाँदा ओ माई गड कति चाडो एट कटाइसकेछु,,,,अव लाईट हेर्नुथियो, हरियो बलिराथ्यो मैले रोकिनु परेन, सिधै साँघुरो बाटो तर्फ हाँक्किएँ। साँघुरो बाटो कटिन साथ यु टर्नको लागि राइट साईडको लाइट बाल्न भ्याइसकेंको थिएँ। यु टर्न सकिए पछि साईड लाइट अफ पनि गरें। स्पिड ब्रेकर आयो..घुल्चुघुल्चुक त्यो पनि पार गरियो, उकालोमा पुगेर ब्रेक लगाई खुट्टा अड्याएँ, कति ज्ञानी स्कुटर धन्न कोल्टेपिल्टे भएन टक्क नै अडिएँ स्कुटरसँगै। बार बार बाँचें अब त बाँचे भनेझै भैसक्याथ्यो मलाई, ओरालोमा पनि कति मजाले अडियो स्कुटर, अरुबेला त लिन्ठिङ लिन्ठिङ ह्यानडल हल्लिएर स्कुटर नै कन्ट्रोल बाहिर जान खोज्थ्यो, कमसेकम आजको लागि अन्ततः मैले आफ्नै धैर्यता र संयमताले ट्रायल पास गरें। यो साँच्चिकै मेरो जिबनको इतिहासकालकै निकै ठूलो उपलव्धी मान्नु पर्छ। फाइनल्ली ड्रिम कम ट्रु को परिणाम आयो।

मैले पास गरेको सुनिश्चित भएपछि उ कति छिटो म भए ठाउँमा आइपुगेछ। उसले बोल्न नपाउदै मैले भनें “थ्याङ्क यु”। “चक्लेट खोइ पास गरेको” रे, आपत पार्ने भो अव जस्तै लागेर “नम्बर लिने हैन???” भन्न भ्याएछु हतार।“ केइ दिनु पर्दैन,

बधाई

छ, जाउ जाउ, खुश हैन त अब??? रे.. म भावुक भएँ विचरा म प्रतिको उसको क्षणिक प्रेम कति निस्वार्थ…ममा त स्वार्थ लुकेको थियो, पास गरें भने ब्लक गरिदिन्छु सोंचेको थिएँ उसले त नं. लिन पनि चाहेन। आफ्नो कुविचारसँग आत्मग्लानी भयो कमसेकम मलाई, मान्छेले त आत्मग्लानी पनि गर्न चाँहदैनन्।

विहानको राशिफल सम्झेर झस्किएँ, गणपति बाबालाई लड्डु चढाएर व्रत बसेको सम्झिएँ, ममीको आशिर्वाद सम्झिएँ, सेतो जुत्ता सम्झिएँ, अनि त्यो फुच्चे केटो सम्झिएँ, सुभ साइतको दही सम्झिएँ, अनि प्रिय पात्रलाई सम्झिएँ। यि सबको हौसला र उत्प्रेरणाले गर्दा शिखरको चुचुरोमा पुगेको आभास भयो। अन्त्यमा सबै सहयोगी हातहरुलाई धन्यवाद अनि विशेष धन्यवाद त्यो फुच्चे केटोलाई जसको आश्वासनले गर्दा मैले नडराई आँखा चिम्लेर पुल विनाको खोला पनि तर्न सक्ने हिम्मत राखेछु।

ममि खुसी हुनुभो, अफिसमा सबै जनाले

बधाई

दिनु भयो। हाकिम म्यामले खुसीको अंगालोमा बाध्दै वधाई दिनुभयो। यति भए म धन्य भएँ। गणपति बाबाको जय होस्।

सफलताको लागि मीठो हौसला मात्र हैन तितो वचन पनि प्रेरणा बन्दो रहेछ।

 ( लेखिका प्रमिला तामाङ्ग नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा कानून अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।)

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]