प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । ६ जनाको हत्यामा संलग्न रहेका मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो । उनी मृतकमध्ये तेजबहादुरको भतिजा रहेको प्रहरीले बताएको छ । घटनामा संलग्न आरोपीका अनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् । लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा प्रहरीले भेटेको थियो । उनले बयानमा तेजबहादुरलाई मात्र मार्न चाहेको तर पछि सबैले देखेपछि बाध्य भएर सबुत मेटाउन अरुलाई मार्न परेको बताएका छन् ।आरोपि लोकबहादुरले भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको एकैदिन हत्या गरेका थिए । हत्या भएका सबैको शव छुट्टाछुट्टै स्थानमा फेला परेको थियो ।डिप्रेशनको औषधि खाइरहेका कार्कीले व्यक्तिगत रिसीबीका कारण हत्या गरेको बयानमा खुलाएका छन् ।