सचिव मरासिनीद्धारा नेपाल बैंकबाट राजीनामा, राष्ट्र बैंकमा शपथ
मधु मरासिनीले नेपाल बैंकको सञ्चालक समिति अध्यक्षबाट राजीनामा दिनुभएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा नेपाल बैंकको सञ्चालक समितिमा मनोनयन भई अध्यक्ष पदको जिम्मेवारीमा रहेका मधु कुमार मरासिनीले साउन १८ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिनुभएको हो । नेपाल बैंक छाडपछि उहाँले बुधबार राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिनुभएको छ । उहाँले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश के.सी.ले सचिव मरासिनीलाई शपथ ग्रहण गराउनुभएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो ।