08:13:45 am 03-Jul-2022

सन्दर्भ चुरे दिवस : चरे संरक्षण एक बहस


सन्दर्भ चुरे दिवस : चरे संरक्षण एक बहस

युवापोष्ट २ असार, काठमाडौं । चुरे क्षेत्र एक भुउपयोग, वातावरणीय र जनजिविका आदिका दृष्टिकोणले एक संवेदनशिल क्षेत्र हो । यसको संरक्षणमा  पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसहित धेरैले क्षेत्रको संरक्षणप्रति चिन्ता तथा चासो व्यक्त गर्दै आएका छन् । यस  क्षेत्रको अत्यधिक संवेदनशीलता र त्यसले देशको जनजीविका र जैविक विविधतामा राख्ने गहिरो प्रभाव रहेको छ ।

चुरे क्षेत्र

करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदी सम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पुर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ वटा जिल्लाहरुमा फैलिएको र कुल भू-भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रको भू-भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ । सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । विज्ञ तथा यसको ब्यवस्थापनको गुरुयोजनग निर्माण कार्यदलका टोली नेता डा. बिनोद भट्टले भन्नुभयो  ‘चुरे क्षेत्र भनेको हिमालय पर्वत शृंखलाको सबभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको सबभन्दा कान्छो, सबभन्दा कमलो र सबैभन्दा कमजोर पर्वत शृंखला रहेको क्षेत्र हो,।’

औलो उन्मुलन पश्चात चुरे तथा भावर क्षेत्रमा मानव वस्तिहरु विस्तार हुँदै गयो । तत्पश्चात आवादी र खेतीका लागि वन जंगल फाँड्ने क्रम क्रमशः बढेर गयो । वन फडानी वन पैदावारको अत्यधिक प्रयोग, खुला चरिचरन, अवैज्ञानिक भू-उपयोग आदि जस्ता कारणले यस क्षेत्रको जैविक विविधता तथा जमीनको उत्पादकत्वमा ह्रास आएको छ जसले गर्दा यस क्षेत्रको समग्र पारिस्थितिकीय प्रणालीमा नकारात्मक प्रभाव परेको छ । चुरे पहाड तथा भावर क्षेत्रको जलाधारको अवस्था क्षयीकरण हुँदै गएकाले तराई-मधेशमा थुप्रै वातावरणीय समस्याहरु देखा पर्दै जानुको साथै पानीको स्रोतहरु समेत सुक्दै गएका छन् । प्रायः बर्सेनी बाढीको प्रकोपले तराई मधेसका खेतीयोग्य जग्गामा बालुवा र पाँगो-माटो थुपार्ने तथा गाउँवस्तीहरु समेत कटान र डुबानले गर्दा प्रभावित हुने गरेका छन् ।

यसलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्रको पारिस्थितिकीय प्रणाली थप कमजोर बन्न गई तराई-मधेशको जनजीवन अझै संकटग्रस्त बन्न सक्छ । नेपालको कुल जनसंख्याको करिव ५० प्रतिशत तराई मधेशमा बसोबास गर्छन् ।

चुरे क्षेत्रको महत्व

यस क्षेत्रको महत्व जनजीविका, जलभण्डार, जैविक बिविधता तथा प्राकृतिक बिपत्ती गरी चार क्षेत्रमा बर्गीकरण गर्न सकिन्छ । 

पहिलो जनजिविकाको महत्वमा भन्नुपर्दा यस क्षेत्र सकिने बित्तिकै भावर अनि तराईको समथर भूभाग रहेको छ । यसलाई हामी अन्नभण्डार रहेको छ । करिव ५१% जनसंख्या यस क्षेत्रमा बसोबास छ । यस क्षेत्रका मानिसहरुको बनपैदाबार र जनजिविकामा चुरे क्षेत्रमा आश्रित रहेका छन् । पशुपालन, बनपैदावरमा निर्भरता र पानीको स्रोतको संरक्षण यसको आधारहरु हुन् । यद्धपि हाल त्यसमा दाउरा र घाँसमा यस प्रतिको निर्भरता घट्दै गएको छ साथै तराई क्षेत्रमा रहेको बन, जंगल आदिको संरक्षण चुरे क्षेत्रको संरक्षणसँग अन्तरनिर्भर रहेको छ ।

दोस्रो जलभण्डारको महत्वमा भन्नुपर्दा , तराईका निम्ति चुरे क्षेत्रले भूमिगत जल भण्डारको काम गरेको विज्ञहरू बताउँछन् । नेपालमा वर्षमा करिब साढे तीन महिना वर्षा हुने गर्छ भनेर अरू बेला पानी फाटफुट मात्रै पर्छ । हिमालमा जम्ने हिउँ प्राकृतिक भण्डारको हिसाबले यहाँको प्रमुख जलभण्डार हो भने चुरे क्षेत्र र भावर क्षेत्रले तराईका निम्ति भूमिगत जल भण्डारको काम चुरे क्षेत्रले गर्छन् । त्यहाँको विशेषता के छ भने कतिपय खोलानाला मौसमी प्रकारका छन् । यस क्षेत्रमा वर्षा मौसममा पानी देखिन्छन् अरू बेला सुख्खा देखिन्छन् । ‘तर त्यही सुख्खा खोलानालामा पनि जमिनमुनि पानी रहेको हुन्छ,’ चुरेका खोलानालामा  । तराईको हकमा वर्षा मौसमबाहेक अन्यबेला पानीको मुख्य स्रोत भूमिगत जल रहेको र यो चुरेकै कारण सम्भव भएको छ । चुरे तराईको शिर भएकाले यसले तराईको भूमिगत जलस्रोतलाई  एकैचोटी बग्न नदिई रोकेर राख्ने त्यसले भूमिगत जलस्रोत बनाउछ ।

चुरे क्षेत्रको तेस्रो महत्व जैविक बिबिधता हो । यहाँको बिशिष्ट बनावटले यहाँको जैबिक बिबिधता आफ्नै प्रकारको रहेको छ । देशका करिब सातवटा संरक्षित क्षेत्र यही चुरे तराई क्षेत्रमा पर्छ । जीवजन्तु विविधताको हिसाबले नेपालमा पाइने १ हजार ९ सय १८ प्रजातिमध्ये १ हजार ३ सय ८ चुरे तथा तराई मधेस क्षेत्रमा पाइन्छ । नेपालमा पाइने संकटमा परेका ४ सय ९३ प्रजातिमध्ये ३ सय १९ यही क्षेत्रमा पाइनुले यो क्षेत्र संरक्षणको दृष्टिले महत्वपूर्ण छ ।

सबै भन्दा अहम महत्व भनेकै प्राकृतिक बिपत्ती न्यूनिकरण नै हो । यस क्षेत्रका चट्टानहरु नरम हुन्छन् । यीनीहरु संबेदनशील हुन्छन् । यो प्राकृतिक रुपमा सवैभन्दा पछि बनेको माथिबाट बगेर आएको माटोहरु थुपरिएर बनेको पहाड भएकाले यसलाई बर्षातको पानीले सजिलै क्षती गराउन सक्छ । चुरे पहाडका गेग्रयाङ्गहरु खहरे, खोला तथा नदीहरुमा थुप्रिन जाँदा तराईको नदीको भूसतह माथि आउदछ । जसले सजिलै नदीले बाटो परिबर्तन गर्दा तराईका बसोबास क्षेत्रहरु र कृषि क्षेत्रमा बाढि पस्ने खतरा बढ्दै जाने हुन्छ । त्यसलाई संरक्षण गरी यसक्षेत्रमा हुने भूक्षयलाई नियन्त्रण गर्न जरुरी रहेको छ ।

संरक्षण प्रयास

चुरे संरक्षण बिभिन्न गैरसरकारी संस्थागत प्रयासहरु भए पनि यसलाई राष्ट्रिय स्तरमा  चुरे संरक्षणको काम बहु-आयामिक, बहु-पक्षीय र बहु-सरोकारवालाहरुसंग सम्बन्धीत विषय भएकाले यसलाई समन्वयात्मक ढंगले संचालन गर्न नेपाल सरकारले २०७१ साल असार २ गते विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी “राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति (गठन) आदेश २०७१” जारी गर्यो । यही दिनको संझनामा चुरे दिवस मनाउन थालियो । विकास समितिबाट कार्यक्रम कार्यान्वयनको नियमित अनुगमन भइरहँदा पनि सरकारी निकायहरूले चुरे कार्यक्रमलाई आफ्नो नियमित कार्यक्रमजस्तो गरी लिँदा यसको विशिष्टता र मर्मलाई नजर अन्दाज गरेजस्तो देखिन्छ ।  विकास समितिका आफ्ना सिमितताहरु हुन्छन्  यसलाई अधिकार सम्पन्न र बलियो बनाउन जरुरी छ । दिगो चुरे संरक्षण र २० वर्षे गुरुयोजना र यसले निर्दिष्ट गरेको गन्तव्यलाई आत्मसात् गर्न चुरे ऐनको तर्जुमा गर्न जरुरी छ ।

संरक्षणका चुनौतीहरु

चुरे क्षेत्रमा भइरहेको चुरे बिनास र यसबाट उत्पन्न हुनसक्ने समस्याहरु हेर्दा मुख्यतया चुरे क्षेत्रमा अवैध जनजिविका, अबैध उत्खनन् , चोरी निकासी र संरक्षण प्रयासको निरन्तरताको अभाव गरी मुख्यतया चार  बुँदामा यसलाई ब्याख्या गर्न सकिन्छ ।

चुरे क्षेत्रमा अवैध बसोबास गरिरहेका जनता र उनीहरूले अपनाउँदै आइरहेको जीविकोपार्जन र उनीहरुको गरिबी र बेरोजगारी पनि चुरे संरक्षणको चुनौती रूपमा रहेको छ । आफ्नो जिविकोपार्जनका निम्ति अन्यक्षेत्रबाट यस क्षेत्रमा बसाई सराई गरि आएका मानिसहरुको मुख्य रुपमा यसै क्षेत्रमा आश्रीत रही आएको देखिन्छ । साथै भावर, तराई, भित्री मधेश र चुरे क्षेत्रकै अधिकांस न्युन जिवनस्तर भएका मानिसहरु यसमा आश्रित रहेका छन् । परम्परागत रुपमा घाँस, दाउरा, चरिचरन, वन पैदावारमा यस क्षेत्रका मानिसहरु आश्रित रहेका छन् । अझ भनौ दाउरा, घाँस रुख बिरुवा आदि खोजेर बेची आफ्नो जनजिविका चलाउने न्यून जिवनस्तरका जनताहरु चुरे क्षेत्र संरक्षणको मुख्य चुनौती रहेका छन् । यीनीहरुको बैकल्पिक जिविकामा लानु साथै संरक्षणको चेतनाको अभावले पनि चुरेको अति दोहनलाई प्रश्रय दिइरहेको छ । बैज्ञानिक बन ब्यवस्थापन र त्यस प्रतिको परनिर्भरता कम गर्ने उपाय सुझाउदै यसको संरक्षण गर्नु अति आवश्यक रहेको छ । चुरे विनाश हुनबाट रोक्न दिगो जीविकोपार्जनको विकल्पसहित जमिनको क्षमताअनुसारको उपयोगको लागि निश्चित कानुन लागू गर्न अत्यन्तै आवश्यक देखिन्छ ।

चुरे क्षेत्रबाट नदीजन्य पदार्थको अवैध उत्खनन् र निकासी अर्को प्रमुख चुनौती हो ।  राजस्वको प्रमुख स्रोतका रूपमा रहेको ढुंगा, गिट्टी, बालुवा उत्खननको केही मापदण्ड निर्धारण भए तापनि लागू हुन सकिरहेको छैन । दर्ता नभएका र नवीकरण नगरिएका साथै राजनैतिक र प्रशासनिक पहुँचका भरमा सञ्चालित क्रसर उद्योग निर्वाध रूपले सञ्चालनमा छन् । उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिएको छैन । नदीजन्य पदार्थ उत्खननमा राजनीतिक दबाबले पनि यसको जरो कति गहिरो छ भन्ने पुष्टि हुन्छ । हालै धरान उपमहानगरपालिकाको कार्यापालिकीय बैठकमा पनि गिट्टी बालुवाको अवैध उत्खनन् रोक्न गरीएको प्रयासले त्यहाँ द्वन्द्व निम्तिएको जगजाहेर नै छ । यस्तो अव्यवस्थित र अवैध उत्खननको नियन्त्रणका लागि कानुनले गरेको व्यवस्थाको पालनामा कडाइ गरिनुपर्छ । उत्खनन् गर्न मिल्ने क्षेत्रको पहिचान, आईईई र ईआईएको व्यवस्थामा कडाइ र नियमित अनुगमन हुनु जरुरी छ । यसले छोटो समयमा नै निम्तिन सक्ने ठुलो क्षतीलाई नियन्त्रण गर्नु चुनौतीको रुपमा रहेको छ ।

अवैध चोरी निकासी

वन अतिक्रमण र चोरी निकासीले  उजाड बन्दै गएको चुरे वर्षात्को समयमा पाखै बगेर आउने खहरेको भेलले उर्बर जमिन बगरमा परिणत हुँदै गएको छ । खहरे नियन्त्रण हुन नसके उर्बर जमिन केही वर्षमै बगर बन्दा यहाँका सायौं जमिन्दारहरु सुकुम्बासी बन्ने अवस्था छ । साथै बनपैदावारहरु भारत तर्फ साथै नेपालमा समेत  अबैध निकासीले यो मासिने क्रम जारी छ ।समन्वयकारी संरक्षणको अभावमा चुरे संरक्षण राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति एकल प्रयास जस्तो ढंगबाट अगाडि बढिरहेको जगजाहेर छ । संरक्षणको अभावमा केही नहुनुभन्दा केही हुनु राम्रो हो तर यससँगै स्थानीय सरकारहरु, बन तथा बातावरण मन्त्रालय, स्थानीय विकास कृषि, जलस्रोत, शिक्षा, स्वास्थ्य आदिलाई नीतिगत तहमा संलग्न गराई आवश्यक समन्वय गरी कार्यक्रम कार्यान्वयनमा एकरूपता ल्याउनु जरुरी छ । चुरे क्षेत्रमा पहिले विभिन्न निकाय र संस्थाहरूले सञ्चालन गरेका राम्रा कार्यक्रमको सिकाइ लिनु जरुरी छ । विभिन्न वन उपभोक्ता समूह, कृषक समूह, युवा समूहलगायतमा समूहलाई सक्रिय रूपमा परिचालन गर्न सक्नुपर्छ । चुरे संरक्षण गरेबापत पुरस्कारको व्यवस्था गरी प्रोत्साहित गर्नुपर्छ । स्थानीय निकाय, राजनीतिक दल र सरोकारवाला निकायहरूबीच अन्तरक्रियाका साथै संरक्षणको लागि प्रतिबद्धता र इमानदारिता पनि उत्तिकै महत्वपूर्ण छ । संरक्षणको हरेक खुड्किलाहरूमा सुशासनको प्रत्याभूति पनि उत्तिकै जरुरी छ ।

समन्वयकारी संरक्षणको अभावमा चुरे संरक्षण राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति एकल प्रयास जस्तो ढंगबाट अगाडि बढिरहेको जगजाहेर छ । संरक्षणको अभावमा केही नहुनुभन्दा केही हुनु राम्रो हो तर यससँगै स्थानीय सरकारहरु, बन तथा बातावरण मन्त्रालय, स्थानीय विकास कृषि, जलस्रोत, शिक्षा, स्वास्थ्य आदिलाई नीतिगत तहमा संलग्न गराई आवश्यक समन्वय गरी कार्यक्रम कार्यान्वयनमा एकरूपता ल्याउनु जरुरी छ । चुरे क्षेत्रमा पहिले विभिन्न निकाय र संस्थाहरूले सञ्चालन गरेका राम्रा कार्यक्रमको सिकाइ लिनु जरुरी छ । विभिन्न वन उपभोक्ता समूह, कृषक समूह, युवा समूहलगायतमा समूहलाई सक्रिय रूपमा परिचालन गर्न सक्नुपर्छ । चुरे संरक्षण गरेबापत पुरस्कारको व्यवस्था गरी प्रोत्साहित गर्नुपर्छ । स्थानीय निकाय, राजनीतिक दल र सरोकारवाला निकायहरूबीच अन्तरक्रियाका साथै संरक्षणको लागि प्रतिबद्धता र इमानदारिता पनि उत्तिकै महत्वपूर्ण छ । संरक्षणको हरेक खुड्किलाहरूमा सुशासनको प्रत्याभूति पनि उत्तिकै जरुरी छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]