सवारीसाधन चालक अनुमतिपत्रको अनलाइन आवेदन सेवा सुचारु
युवा पोस्ट, कार्तिक १२, २०७८– लामो समयपछि खुलेको सवारीसाधन चालक अनुमतिपत्रको अनलाइन आवेदन दुई दिन सेवा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ। महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाले प्रभावित बनेको उक्त सेवा सरकारले छ महिनापछि यसै साताको सोमवारबाट खोलेको थियो। तर सेवा सञ्चालनमा आएकै दिन १५ लाख मानिसले विभागको वेबसाइट खोलेको र धेरै जनाले एकैपटक अनलाइन आवेदन भर्न खोज्दा प्रणालीमा समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले अनलाइन आवेदन पाँच/छ महिनापछि सुरु भएकोले धेरै सेवाग्राहीले एकैपटक एक्सेस गर्दा दुई दिनसम्मका लागि समस्या भएपनि हिजो बिहीवार बेलुकाबाट सेवा पुनः सुरु भइसकेको जनाएका छन् । आवेदन खुलेको २४ घण्टाभित्रै एक लाखभन्दा बढी मानिसले अनलाइन आवेदन भरेको देखिएको विभागले जनाएको छ। लामो समयसम्म वितरण रोकिएकाले अहिले देशभरिबाट करिब १० लाख जनाले सवारीसाधन चालक अनुमतिपत्र लिन खोजेको विभागले जनाएको छ।