साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सको जितसँगै नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो
माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप फुटबलमा नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ।बिहीबार माल्दिभ्सले प्रतियोगितामा अपराजित रहेको बंगलादेशलाई २-० ले पराजित गरेसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पकड जमाउन सफल रहयो । अब नेपालले आइतबार भारतसँग खेल्दै छ। यो खेल जितेमा नेपाल एक खेलअगावै फाइनलमा पुग्नेछ भने बराबरीले पनि सम्भावना जीवितै रहनेछ तर हारले भने अरूको खेलमा निर्भर हुनुपर्नेछ। साफ च्याम्पियनसिपमा नेपालले आगामी २७ गते बंगलादेशसँग अन्तिम खेल खेल्नेछ । हाल अंक तालिकामा नेपाल २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बंगलादेशले ३ खेल खेल्दै ४ अंक जोडेको छ । माल्दिभ्स पहिलो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोलीले २ खेलमा ३ अंक जोडेको छ । यस्तै भारतले आफ्नो दुवै खेल बराबरी गर्दै २ खेलमा २ अंक जोडेको छ । श्रीलंका ३ खेलमा १ अंकसाथ अंक तालिकाको पुछारमा छ । श्रीलंकाको भने फाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ ।