सिद्धार्थ बैंकको प्रमुखकार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त
युवा पोस्ट, मंसिर २८ ,२०७८,
सिद्धार्थ बैंक लिमिटेडकोे प्रमुखकार्यकारी अधिकृतमा श्री सुन्दर प्रसाद कडेल नियुक्त हुनुभएको छ । मिति २०७८ साल मंसिर २७ गते बसेको बैंक संचालक समितिको ३८५ औँ बैंठकले श्री कडेललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुखकार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघि बैंकका तत्कालिन प्रमुखकार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमले आफ्नो ४ वर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरे पश्चात् श्री कडेल कायम मुकायम प्रमुखकार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
बैंकिङ्ग क्षेत्रको सेवामा नवनियुक्त प्रमुखकार्यकारी अधिकृत श्री कडेलको तीन दशक भन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गर्नुभएका श्री कडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत ४ वर्ष देखि बैंकको नायब प्रमुखकार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो । बैंक सञ्चालनमा विशेष दखल राख्ने श्री कडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नु अगाडि नबिल बैंकमा समेत करिब १७वर्षको कार्य अनुभव समेत सँगाल्नु भएको छ । प्रमुखकार्यकारी अधिकृत श्री कडेलको नियुक्तिबाट सिद्धार्थ बैंकलाई अझै उचाईमा लैजान मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।