सीआईएका प्रमुख विलिअम बर्न्ससँग गोप्य भेट गर्ने मुल्लाह बरादर को हुन् ?
उरुजगान प्रान्तमा दुर्रानी समुदायमा सन् १९६८ मा जन्मेका मुल्लाह बरादर सन् १९९४ मा तालिबान गठन गर्ने चारमध्येका एक व्यक्ति हुन्। उनलाई सन् २०१० मा अमेरिका र पाकिस्तानले सञ्चालन गरेको एउटा संयुक्त कारबाहीमा पक्राउ गरिएको थियो । सन् २०१२ सम्म उनीबारे धेरै जानकारी उपलब्ध थिएन। त्यतिखेर अफगानिस्तान सरकारले शान्तिवार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो। सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्यो ।सन् २०१९ देखि तालिबानको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख छन्।गत वर्ष फेब्रुअरीमा उनले अमेरिकी र नेटो सेनाको फिर्तीबारे दोहामा गरिएको एउटा सहमतिमा हस्ताक्षर गरे।उनले सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए।कुनै अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष सम्पर्क गर्ने उनी पहिलो तालिबान नेता हुन्।उनी तालिबानका पूर्वप्रमुख नेता मुल्लाह ओमारका विश्वासपात्र थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए।सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे ।