कार्तिक ६, सुर्खेत। सुर्खेतमा अवस्थित वीरेन्द्रनगर नगरपालिका-७ मा रहेको कटकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट हुँदा शनिवार बिहान ११ बजे घाँस काट्न भनी गएका दिदी-भाइ घाइते भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार त्यस सामुदायिक वनमा घाँस काट्न जाँदा बम विस्फोटमा परी घाइते भएका हुन्।
उनीहरू हाल सुर्खेतको वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए। घाइतेहरुको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर नभएको उनले बताए।