07:12:42 pm 24-May-2022

सेयर बजार बारे आधारभुत जानकारी भाग २


धितोपत्र

सरकार तथा कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो । सरकार तथा संगठित संस्था (कम्पनी) हरुद्वारा निष्कासन तथा विक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषका एकांक लगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन भनी परिभाषित गरेको छ ।

नेपालमा पहिलो पटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए । सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निस्कासन गरेको थियो । निजी क्षेत्रबाट वि.सं.२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरुमध्ये हिमालयन बैंकले वि.सं.२०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।

सरकारी ऋणपत्र र संस्थागत ऋणपत्र

तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा संगठित संस्थाले जारी गरेको ऋणपत्रलाई डिबेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारतया एक हजार रुपैयाँ हुन्छ । डिबेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्छन् ।
तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा केन्द्रीय वा स्थानीय सरकारले जारी गरेको ऋणपत्रलाई (बन्ड) भनिन्छ । बन्ड वा डिबेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुने अवसर र मतदान गर्ने अधिकार हुंदैन ।
कम जोखिम लिन चाहने लगानीकर्ताहरुको रोजाइमा ऋणपत्र पर्छन । धितो जमानी भएको र नभएको, विमोच्य र अविमोच्य, परिवर्तनीय र अपरिवर्तनीय गरी ऋणपत्रलाई विभाजन गर्न सकिन्छ ।

सामूहिक लगानी योजना (Mutual Fund)

सामूहिक लगानी योजना (म्युचुअल फन्ड) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरुको सहभागीता रहने गरी परिचालन गरिएको लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएका प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरुलाई समानुपातिक रुपले वितरण गर्न योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा त्यस्तै प्रकारको अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम भन्ने बुझिन्छ ।
धेरै लगानीकर्ताको बचतलाई संकलन गरी निश्चित वित्तीय औजारमा लगानी गर्छ । व्यावसायिक व्यवस्थापकको ज्ञान तथा अनुभव (जुन व्यक्तिगत लगानीकर्तामा नहुन सक्छ)को अधिकतम उपयोग गर्छ । आकारको फाइदा उठाउँछ जुन व्यक्तिगत लगानीकर्तामा हुन सक्दैन ।
म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुदैन । लगानीकर्ताले आफुँसंग भएको एकांक जनुसुकै समयमा बेच्न सक्छन र किन्न पनि सक्छन । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ ।
म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्व निर्धारित समयावधिमा लगानीकर्ताले योजनाको एकांक किन्न पाउँछन । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा एकांक बिक्री गर्छन ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]