हजारौँ नक्कली इमेल गएपछि अमेरिकी गुप्तचर निकाय एफबीआईको सर्भरमा साइबर आक्रमणको शङ्का सचेत रहन आग्रह
युवा पोस्ट, कार्तिक २८, २०७८, अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईको सर्भरबाट हजारौँ नक्कली इमेलहरू गएको घटना साइबर आक्रमण हुनसक्ने बताउदै अनुसन्धान थालिएको छ । ती इमेलहरू यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीबाट आएको जस्तो देखिने गरी पठाइएका थिए। शनिवार एक वक्तव्यमा एफबीआईले @fbi.gov बाट प्रेषित गलत इमेलसम्बन्धी घटनाबारे जानकार रहेको बताएको थियो। एफबीआईले प्रभावित पूर्वाधारहरू हटाइएको बताउँदै सबैलाई नचिनेका प्रेषकबाट आएका इमेलप्रति सचेत रहन एवम् त्यस्ता शङ्कास्पद क्रियाकलापबारे सरकारलाई जानकारी गराउन भनेको छ। एफबीआईबाट त्यस्ता इमेलहरू भित्रकै कसैले पठाएको हो या ह्याकरहरूको काम हो भनी स्पष्ट भएको छैन। ती इमेलमा प्रापकहरूलाई उनीहरू डार्क ओभरल्यान्ड नामक पैसा धुत्न खोज्ने समूहको एउटा जटिल आक्रमणको लक्ष्य रहेको कुरा लेखिएको स्पामहउस नामक गैरनाफामूलक समूहले बताएको छ। ती इमेलका ठेगानाहरू सही भएको र ती एफबीआईकै पूर्वाधारबाट आएका कारण त्यसले काममा निकै खलल पारेको छ, स्पामहउसले बताएको छ। ती इमेलमा प्रेषकको नाम वा सम्पर्क जानकारी नभएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार यस्ता एक लाखभन्दा बढी इमेल प्रेषित गरिएका छन्।