१० महिनामा जम्मा २८ वटा बैठक, एक बैठकका लागी खर्चियो २१ लाख रुपैंया
युवा पोस्ट, मंसिर २८ ,२०७८,
सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्ने भवनको भाडाका लागि गत वैशाख यता ११ करोड रुपैयाँभन्दा बढी रकम संसद् सचिवालयले तिर्नुपर्ने भएको छ। वैशाखयता प्रतिनिधिसभाका २६ वटा बैठक बसेको संसद् सचिवालयको अभिलेखमा उल्लेख छ। यसबीचमा माथिल्लो सदन भनिने राष्ट्रिय सभाका २८ वटा बैठक बसे। दुवै सदनका गरी ५४ वटा बैठकका लागि १० महिनाको भाडा भाग लगाउँदा एउटा बैठकका लागि २१ लाख रुपैयाँभन्दा केही बढी पर्ने संसद् सचिवालयका अधिकारीहरू बताउँछन् । किन तिर्नुपर्छ त भाडा ? कानुन निर्माण, अनुमोदन र जनसरोकारका विषयमा बहसका लागि जनप्रतिनिधिहरूको बैठक बस्ने आफ्नै सभा हल नभएका कारण संसद् सचिवालयले विगत १३ वर्षदेखि नयाँबानेश्वरस्थित सम्मेलन केन्द्र भाडामा लिएको छ। पहिला सिंहदरबारस्थित राणाकालीन ग्यालरी बैठकलमा संसद्को बैठक गरिन्थ्यो। तर संविधानसभाका ६०१ सदस्यका लागि उक्त भवन साँघुरो भएपछि संसद् सचिवालयले विसं २०६५ बाट नयाँबानेश्वरस्थित सम्मेलन केन्द्र भाडामा प्रयोग गर्दै आएको हो । सुरुमा सात करोड रुपैयाँमा भाडामा लिइएको भवनको भाडा बढ्दै अहिले दुई गुनाभन्दा बढी पुगिसकेको छ। सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने सर्त छ। तर संसद् सचिवालयले १० प्रतिशत भाडा बढाएर सम्झौता नवीकरण गर्नेबारे निर्णय दिइसकेको छैन।