१२ देखि १८ वर्षका बालबालिका र दीर्घ रोगीलाई फाइजर खोप दिन सुरु
युवा पोस्ट, मंसिर ५, २०७८,
देशैभर तोकिएका सबै स्वास्थ्य केन्द्रहरूमा हिजो आइतवारबाट १२ देखि १८ वर्षका बालबालिकाले उमेर खुल्ने परिचय पत्र र दीर्घ रोगीहरूले चिकित्सकले उपलब्ध गराएको कागजातका आधारमा कोभिड विरुद्धको फाइजर खोप सिधै प्राप्त गर्न सक्ने गरी व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपका १००,६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो। सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो। तर हालै प्रकाशित एक विवरण अनुसार यूकेको हेल्थ सेक्योरीटी एजेन्सीले १२ देखि १७ वर्षका स्वस्थ बालबालिकाहरूलाई १२ हप्ताको अन्तरमा मात्र दुई मात्रा दिनु राम्रो हुन्छ। उक्त उमेर समूहका कोभिड सङ्क्रमण भएका बालबालिकाहरूलाई पनि सङ्क्रमणको १२ हप्ता पछि मात्रै फाइजर खोप लगाउन भनिएको छ। सरकारले हाल फाइजर खोप काठमाण्डौ उपत्यकाका नौ वटा अस्पताल र सातै प्रदेशमा गरी १५ वटा अस्पतालबाट लगाउन सकिने व्यवस्था गरेको छ।