३२औं टोकियो ओलम्पिक समापन ,३९ स्वर्ण सहित अमेरिकाको वर्चस्व
जुलाई २३ देखि जापानको टोकियोमा सुरु भएको ३२ औँ गृष्मकालीन ओलम्पिक आइतबार अर्थात ८ अगस्टबाट सकिएको छ । समापन समारोहमा जापानले ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरेको छ । ३३औँ गृष्मकालीन ओलम्पिक सन २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने भएको छ । टोकियो ओलम्पिक २०२० को पदक तालिकामा उद्घाटन समारोहको भोलिपल्टदेखि गणना गरेर प्रतिस्पर्धाको १५ औं दिनसम्म चीनलाई कसैले उछिन्न सकेको थिएन । ग्रीक राजधानी एथेन्सबाट १२५ वर्षअघि सुरु भएको आधुनिक ओलम्पिकमा स्वर्णका आधारमा पदक तालिकामा वरीयता निर्धारण गरिन्छ । लगातार शीर्ष स्थानमा रहेको चीनलाई पछि पार्दै अन्तिम दिन अमेरिका शीर्ष स्थानमा उक्लिएको हो । अमेरिका ३९ स्वर्ण ४१ रजत र ३३ कास्य गरी कुल ११३ पदक जितेको छ ।३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जितेको चीन दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी ५८ पदक जित्यो । बेलायत २२ स्वर्ण तथा कुल पदक ६५ सहित चौथो र रसियन ओलम्पिक कमिटी २० स्वर्ण र कुल पदक ७१ सहित पाचौँ स्थानमा रह्यो ।छिमेकी मुलुक भारतले १ स्वर्ण २ रजत र ४ कास्य गरी ७ पदक जित्न सफल भयो ।