अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख र तालिबान नेताबीच ‘काबुलमा गोप्य भेट’
अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुख विलिअम बर्न्सले तालिबानका नेता मुल्लाह बरादरसँग सोमवार गोप्य भेट गरेको स्रोतहरूले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन्। तर तालिबान र सीआईए कसैले पनि दुईबीच भएको भनिएको भेटबारे पुष्टि गरेका छैनन्। वाशिङ्टन पोस्टका अनुसार सीआईए र तालिबानबीचको भेटघाटमा अमेरिकी सेनालाई हवाई उद्धार गर्न दिइएको समयसीमाबारे पनि छलफल भएको हुनसक्छ। मङ्गलवार तालिबानले थप अफगान नागरिकलाई देश छोड्न नदिइने तथा अमेरिका फिर्ता जाने समयसीमा पनि नबढाइने बताइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ भित्र अमेरिकी सेनाले अफगानिस्तान छोडिसक्न समयसीमा तोकेका छन्। यूकेसहित अन्य साझेदार राष्ट्रले उक्त समयसीमा लम्ब्याउन चाहेका छन्।