अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको खबर आएको छ। तालिबानले उक्त जेललाई आफूले नियन्त्रणमा लिएको बताए पनि हालसम्म त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित उक्त सहरका गल्ली गल्लीमा लडाइ जारी छ। हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ। रेडक्रसका अनुसार अफगानिस्तानको उक्त दक्षिणी सहरबाट मानिसहरू पलायन भइरहेका छन् । त्यहाँ एक साताभित्र घाइते हुने सर्वसाधारणको सङ्ख्या दोबर भएको छ। । संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र त्यहाँ १,००० सर्वसाधारण मारिएका छन् ।