इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । टर्कीको इस्तानवुलमा बिहीबार राति भएको अवार्ड समारोहमा जर्गिन्होले बेल्जियन तथा म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन र आफ्नै सहकर्मी फ्रान्सेली एङ्गोलो कान्टेलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएका हुन् । जर्गिन्हो एकै वर्षमा च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप जित्ने १०औं खेलाडी बनेका थिए। उनले चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरोकप जितेका थिए ।
युइएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गर्दा पहिलोपटक तीन जना नै मिडफिल्डर पर्न सफल थिए । यो अवार्डको लागि युईएफएले एक सिजन भर खेलाडीले गरेको प्रदर्शनलाई मापन गर्दै छनोट गर्ने गर्दछ । जर्गिन्होले १७५ मत पाए । केभिन डि ब्रुएनले १६७ तथा कान्टेले १६० मत पाए । यो अवार्डको लागि २४ राष्ट्रका प्रशिक्षक, च्याम्पियन्स लिगका ३२ र युरोपा लिगको ४८ प्रशिक्षक, युरोपियन स्पोर्ट्स मिडिया (इएसएम) का ५५ जना खेल पत्रकारको मतबाट खेलाडी छनोट गर्ने गरिन्छ । एकै क्लब तथा राष्ट्रका प्रशिक्षकले आफ्नै खेलाडीलाई मत दिन पाइनेछैन ।