इटालीका गोलरक्षक २२ वर्षीय जियानलुइजी डोनारुम्मा युरोपेली च्याम्पियनसिप २०२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रो पटक युरोको उपाधि जितेको थियो । टाइब्रेकरमा इटालीले जित हासिल गर्दा उनले २ प्रहार रोकेका थिए । समूह चरणमा कुनै गोल नखाएका डोनारुम्माले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमा १ हजार मिनेटभन्दा बढी गोल नखाने कीर्तिमान बनाए संगै यूईएफए युरो २०२० को प्राविधिक समितिले उनलाई सर्वोत्कृष्ट खेलाडी चुनेको हो । उनले व्यक्तिगत र टोलीको महत्त्वपूर्ण सदस्यको रुपमा गरेको प्रदर्शनलाई आधार मान्दै प्राविधिक समितिले उनलाई उत्कृष्ट खेलाडीमा चुनेको हो । युरोको ७ खेलमा ७ सय १९ मिनेट खेलेका उनले यसक्रममा ३ क्लिनसिट राख्दै ४ गोल मात्र खाएका थिए । उनले यसक्रममा ९ बचाउ समेत गरेका थिए । डोनारुम्माले सेमिफाइनलमा स्पेन र फाइनलमा इंग्ल्यान्डविरुद्ध टाइब्रेकरमा निर्णायक भूमिका खेलेका थिए ।