फाइजर कोभिड-१९ विरुद्ध एफडीएको पूर्ण अनुमति पाउने पहिलो खोप
फाइजर कम्पनीले उत्पादन गरेको कोभिड-१९ विरुद्ध दुई मात्रा दिनुपर्ने खोपले यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) बाट पूर्ण अनुमति पाएको छ।पहिला आपत्कालीन प्रयोगका लागि अनुमित पाएको उक्त खोप अमेरिकामा पूर्ण अनुमति प्राप्त गर्ने पहिलो कोभिड खोप बनेको छ। तीन साताको अन्तरालमा एक(एक मात्रा दिनुपर्ने फाइजर खोपले १६ वर्ष र त्योभन्दा बढी उमेरका मानिसमा प्रयोग गर्न पूर्ण अनुमति पाएको हो। फाइजरले पूर्ण स्वीकृति पाएपछि देशभरि रोजगारदाता र सङ्घसंस्थाहरूले खोप अनिवार्य लिएको हुनुपर्ने भनी थप नियम बनाउने अपेक्षा गरिएको छ।एफडीएले फाइजर खोपलाई स्वीकृति प्रदान गर्ने बेलामा झन्डै ४४ हजार मानिसबाट सङ्कलित तथ्याङ्कको समीक्षा गरेको थियो। कोभिड हुन नदिन उक्त खोप ९१ प्रतिशत प्रभावकारी देखिएको थियो।फाइजरको उक्त खोप अब बजारमा(कोमिर्न्याटी)नामबाट विक्रीवितरण हुनेछ। एफडीए की कार्यवाहक आयुक्त ज्यानेट वुडककका अनुसार अब सर्वसाधारण मानिसहरू उक्त खोपले उच्च सुरक्षा, प्रभावकारिता र गुणस्तर कायम गर्ने कुरामा एकदमै ढुक्क हुन सक्नेछन्। यसअघि एफडीएले फाइजर खोपलाई अस्थायी अनुमति दिएको थियो। अहिले दिइएको पूर्ण स्वीकृति स्थायी हो।
एफडीएको निर्णयपछि अमेरिकी सेनाले आफ्नो सेवामा भएका सबै १३ लाख सैनिकले खोप लगाएकै हुनुपर्ने बताएको छ।