अफगानिस्तानको एक प्रमुख शहर लश्कर गाह कब्जाका लागि तालिबान विद्रोही र सरकारबीच भीषण लडाइँ भइरहेको छ । संयुक्त राष्ट्रसङ्घले मङ्गलवार लश्कर गाह सहरमा अघिल्लो दिन मात्र कम्तीमा ४० सर्वसाधारण मारिएको जनाएको छ । सडकमा शवहरू रहेको तर सो शवहरु सर्वसाधारणका हुन् या तालिबानका हुन् यकिन नभएको जानकारी प्राप्त भएको छ । यो वर्ष मात्रै सरकार–तालिबान द्वन्द्वका कारण १ हजार ६ सय जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
आगामी सेप्टेम्बर महिनासम्म अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणासँगै तालिवानले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा आफ्नो पकड बनाउने रणनीति बनाए पनि अहिलेसम्म तालिबानले कुनै पनि राज्यको राजधानीमा कब्जा जमाउन सकेको छैन । ग्रामीण क्षेत्रहरुबाट हजारौं मानिस विस्थापित भई सहरका पक्की भवनमा शरण लिइरहेको बीबीसी ले उल्लेख गरेको छ । यसै वर्ष मात्र ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । विस्थापितमध्ये केहीले छिमेकी शहर तथा गाउँ र केहीले छिमेकी मुलुक ताजिकिस्तानमा समेत शरण लिन पुगेका छन् ।