09:41:25 am 13-May-2021

विराटनगरमा बिहीबारदेखि जुत्ताचप्पल मेला, थरिथरिका ५ हजार मोडलका जुत्ता उपलब्ध हुने


विराटनगरमा बिहीबारदेखि जुत्ताचप्पल मेला, थरिथरिका ५ हजार मोडलका जुत्ता उपलब्ध हुने

विराटनगर- विराटनगरमा चैत ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला’ को आयोजना हुने भएको छ ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजना चैत्र ५ देखि बैशाख ५ गतेसम्म व्यापार मेला हुने भएको हो । विगत पाँच वर्षदेखि हुँदै आएको व्यापार मेलालाई आयोजकले यस वर्ष पनि निरन्तरता प्रदान गरेको हो । कोरोना महामारीका कारण बढ्दै गएको व्यापार घाटालाई न्युनीकरण गर्न तथा आर्थिक समृद्धि हाँसिल गर्नमा सहयोग पु¥याउन व्यापार मेलाको आयोजना गर्न लागिएको व्यापार मेलाका संयोजक होमनाथ उपाध्यायले बताए । उनले मेलामा १५ भन्दा बढी नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने जानकारी दिए ।

मेलालाई दैनिक २० हजार बढी उपभोक्ताहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा बि.एफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक र हाईलाईफ ब्राण्डका ५ हजार बढी मोडेलका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने आयोजकको दाबी छ ।

मेलामा १२ वटा स्वदेशी कम्पनीहरुले उत्पादन गरेका २० ब्राण्डका जुत्ताचप्पलहरु १० देखि ५० प्रतिशत छुटमा खरिद गर्न सकिने मेलाका संयोजक उपाध्यायले बताए । उनले मेलामा १ सय देखि १० हजार मुल्यसम्मका जुत्ताचप्पलहरुको खरिद बिक्री हुने लक्ष्य राखिएको जानकारी दिए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्धारा उद्घाटन हुने मेलामा अनुमानित २ लाख ५० हजार जोर जुत्ताचप्पलको खरिद बिक्री हुने आयोजक संस्थाको अपेक्षा छ । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने मेलाको आयोजना विराटनगरको रङ्गेली रोडस्थित नेपाल बङ्गलादेश बैंकको उत्तरपट्टीको खाली संरचनामा गरिएको छ ।

स्वदेशी उत्पादनको प्रचारप्रसार र प्रर्वद्धनका लागी विगतका समयमा पनि पोखरा, बुटवल, काठमाण्डौं र हेटौंडा जस्ता नेपालका प्रमुख शहरहरुमा जुत्ता चप्पल व्यापार मेलाको आयोजना हुँदै आएको छ ।

फुटवेयरकै क्षेत्रमा करिब ३२ अर्ब बराबरको लगानी रहेको नेपालमा ९ करोड जोडी जुत्ताचप्पल आन्तरिक बजारको माग हो । जसमध्ये करिब ६३ प्रतिशत जुत्ता चप्पलहरुको आपुर्ति आन्तरिक उत्पादनबाटै भएको छ । हाल यस क्षेत्रका उद्योगहरुमा करिब ५५ हजार मजदुरहरुले रोजगारी पाएका छन् भने एकतिहाई महिलाहरु प्रत्यक्ष रुपमा कार्यरत छन् ।

 

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]