हातमा डिग्रीको सर्टिफिकेट बोकेर
आफ्नो कोखमा हुर्किएको सन्तानको
लिङ्ग परीक्षण गराउन गएका
ति शिक्षित आमाहरूलाई
महिला दिवसको उपलक्ष्यमा
कुन हृदयले शुभकामना दिउँ ?
मेरो काखमा, मेरा दुई सन्तान
मेरा दुई छोरी देख्तादेख्तै
छोरी सन्तान नै हैनन् भनिकन
मेरो शीर निहुराउन
पटक पटक प्रहार गर्ने
ति शिक्षित आमाहरूलाई
महिला दिवसको उपलक्ष्यमा
कुन हृदयले शुभकामना दिउँ ?
यो प्रविधिको जमानामा पनि
दुई छोरी लिएर हिंड्ने
तिमी जस्तो मूर्ख आमा
देखिनौं हामीले भन्दै
मलाई मूर्खको उपाधि दिने
ति शिक्षित आमाहरूलाई
महिला दिवसको उपलक्ष्यमा
कुन हृदयले शुभकामना दिउँ ?
अशिक्षामा अँध्यारो कुनै नौलो कुरा भएन
यहाँ त शिक्षामा नै अँध्यारो देखिन थाल्यो
यसरी शिक्षित आमामा नै अँध्यारो देख्ता
उम्लिन्छ यो शरीरको रगत
अनि भन्न मन लाग्छ
मेरो पहिलो शत्रु त आमा तिमी नै हौ ।
आमा तिमी म उठेको हेर्न नै चाहन्नौ
म सक्षम भएको त अझ कसरी सहन्छ्यौ होला ?
तिमीलाई त म निरीह भएको हेर्ने बानी परेको छ
अनि तिम्रा काखमा रुँदै
मैले आफ्ना पिडा बिसाउँदा
तिमीले नारीको जीवन यस्तै हो
छोरी भएपछि सब सहनुपर्छ
भन्दै तिम्रा सान्त्वनाका शब्द भनौं या
निरीहताले भरिपूर्ण शब्द मैले सुनी
तिमीलाई मेरी आमा, तिमी महान् छौं
मेरी आमा तिमी धर्ती हौ, तिमी भगवान हौ
भनेर मेरा शब्दहरू वर्षिरहँदा
आफूलाई महान् मुल्यांकन गर्ने बानी जो परेको छ ।