संसारभर आफ्नो साम्राज्य जन्माउँदै हिँडेका अंग्रेजले सिन्धुलीगढीमा पहिलो पटक गोर्खाली सेनासँगै हार बेहोर्नु परेको थियो । सोही कारण नेपालीको शीर सधैं उच्च छ । र, नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा यस क्षेत्रमा आफूलाई चिनाउँदै आएको छ । सिन्धुलीगढीमा नेपाली सेनाले प्राप्त गरेको सफलताकै कारण नेपालले विश्व इतिहासमा सुनौलो अक्षर कोर्न सफल भएको छ ।सिन्धुलीगढीमा हाम्रा पुर्खाले देखाएको बहादुरीकै कारण नेपालले कहिल्यै कसैको औपनिवेशिक राष्ट्र बन्नु परेन । जसले नेपालीलाई संसारभर बीर गोर्खालीको पहिचान दिलायो । गोर्खा एउटा ब्राण्ड बन्यो ।
इतिहासकारहरूको अध्ययन अनुसन्धान अनुसार त्यसबेला हाम्रा पु्र्खाले बल, वुद्धि र विकेकले सिन्धुलीगढी युद्ध नजितेको भए नेपालको एकीकरण असम्भवप्रायः थियो । हामी अंग्रेजहरूको उपनिवेशमा बस्नुपथ्र्यो। र, अहिलेको नेपालजस्तो अविभाज्य राष्ट्रका रुपमा रहन्थ्यो कि रहँदैनथ्यो भनेर यसै भन्न सकिँदैन । त्यसैले नेपालको इतिहासमा सिधुलीगढीलाई राष्ट्रिकै गौरवपूर्ण स्थलका रूपमा मान्न सकिन्छ ।
सिन्धुलीगढीमा त्यसबेला शत्रुलाई आक्रमण गर्न निर्माण गरिएका आड तथा दुर्गहरू अहिले पनि छन् । गढीमा रहेका किल्ला, दरबार, अदालतको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । कतिपय संरचनाको भागनाशेष संरक्षण हुन नसक्दा गायब भएका छन् । धेरै शिलालेखहरू हराएका छन् भने भएका शिलालेखको पनि संरक्षण गरिएको छैन ।
ऐतिहासिक किल्ला गौरवपूर्पण इतिहास हेर्न, बुझ्न चाहनेहरूका लागि पर्यटकीय केन्द्र अवश्य पनि हो । जापान सरकारको सहयोगमा पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग सिन्धुलीगढीबाटै निर्माण भएपछि यसको आकर्षण थप बढेको छ । स्वदेशीमात्र नभइ विदेशी पर्यटकले पनि सिन्धुलीगढीको ऐतिहासिकता तथा किँवदन्तीजस्तै लाग्ने मौलिक युद्धका विषयमा बुझ् चाहेका छन् र यसबाट त्यस क्षेत्रको पर्यटकीय महत्व थप बढेको छ । तर, पछिल्लो समय सिन्धुलीगढीमा पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माण सुरु हुँदा त्यसले यस गढीको मौलिक अस्तित्व नै समाप्त पार्ने हो कि भन्ने चिन्ता सबैमा बढेको छ ।
मेटिएको इतिहास
तत्कालीन माओवादीले जनयुद्ध सुरू गर्दा आक्रमण गरेको सिन्धुलीगढीस्थित प्रहरी चौकी । अहिले चौकी मासेर पार्क बनाइएको छ ।
२०५२ साल फागुन १ गते रोल्पा, गोरखा र सिन्धुलीगढीमा रहेको प्रहरी चौकीमा एकसाथ आक्रमण गरेर तत्कालीन माओवादीले जनयुद्धको सुरुवात गर्यो । उक्त जनयुद्धमा १७ हजारभन्दा धेरै नेपालीले ज्यान गुमाएको सत्य खोज्न अहिलेको पुस्ताले कुनै इतिहासको पाना पल्टाइरहनु पर्दैन । नेपालको इतिहासमा एउटा नमेटिने घटना हो माओवादी जनयुद्ध । जनयुद्ध सुरु हुँदा आक्रमण भएको सिन्धुलीगढीको प्रहरी चौकी पछिसम्म भग्नावषेशका रूपमा थियो । उक्त प्रहरी चौकी माओवादी जनयुद्धको संग्रहालय र युद्धको एउटा जीवित दस्तावेज बन्न सक्थ्यो । तर चौकी रहेको उक्त स्थानमा २ वर्ष अगाडि सिन्धुलीगढी स्मारक खडा गरिएको छ । चौकीको अस्तित्व अहिले देख्न सकिँदैन । अझ विडम्बना के छ भने त्यस बेला पृथ्वीनारायण शाहको छोरा रणबहादुर शाहले गढीको पुनर्निर्माण गरेर लेखिएको शिलालेख गढीको एउटा कुनामा फालिएको छ, अरू थुप्रै शिलालेख संरक्षणको अभावमा मासिएका छन् । यद्यपि, सिन्धुलीगढी स्मारक बनाउने नाममा मेयर, गणपति र कर्णेलका नाम उल्लेख गरेर नयाँ शिलालेख खडा गरिएको छ । जसले गर्दा पुराना इतिहास मेटेर नयाँ इतिहास खडा गर्ने दुष्प्रयास भइरहेको छ । स्थानीय आफ्नो धरोहर मेटिँदा पनि टुलुटुलु हेरेर बसिरहन विवश छन् । गढीमा यस्ता अरू कति पुराना ऐतिहासिक संरचनाको अस्तित्व मेटिएको छ, त्यसको थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
सिन्धुलीगढीमा बनाइएकाे पार्क
मल्लकालमा उच्च रणनीतिक भूभागमा धेरै गढीहरु स्थापना गरिएको थियो । पूर्वदेखि पश्चिमसम्म अहिले पनि धेरै गढीहरुको भग्नाबशेष कायममै छन् । त्यहीमध्ये सिन्धुलीगढी एक हो । त्यस बेला उपलब्ध ढुंगा, चुन, सुर्कीलगायतका सामग्रीले गढी निर्गमाण गरिएको थियो । कतिपय गढीहरुमा राजाहरूको बसोबासको लागि दरबार निर्माण गरिएको थियो । त्यस बेला दुश्मनलाइ आक्रमण गर्न ढुंगाबाट निर्माण गरिएका बंकर, कोतघर, मन्दिर, पोखरी, इनार, ढुंगेधारा, शिलालेख, वास्तुकलाले भरिएका दरबार, पाटीपौवा, खुल्ला मैदान नै गढीको मौलिकता हो । तर, अहिले गढीको पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माणको काम भइरहँदा त्यसले गढीको मौलिक अस्तित्व धरापमा पारेको छ । जथाभावी घर, स्मारक, सिमेन्टको सिँढी, सडक निर्माण भइसकेका छन् भने थप भवन, गेट, पार्क बनाउन धमाधाम टेन्डर भइरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारले गढीमा नयाँ संरचना बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । यसरी निर्माण भइरहेका संरचनाले गढीको मैलिक अस्तित्व मासेर गढी क्षेत्रलाई सहरीकरण गर्ने योजनामा उद्यत देखिन्छन् ।
युद्ध संग्रहालय
सेनाले बनाउन लागेकाे युद्ध संग्रहालयकाे नक्सा
नेपाली सेनाले सिन्धुलीगढीमा युद्ध संग्रहालय बनाउन एकतले ट्रस भवनको डिजाइन सार्वजनिक गरेको छ । झण्डै ४ करोड रूपैयाँ लागतमा भन्ने उक्त संग्राहलय यही कात्तिक २४ गते शिलान्यास हुँदैछ । अर्कोतर्फ प्रदेश सरकारले भने पुरातत्व विभागले तयार गरे डिजाइनमा सिन्धुलीगढीमा रहेको राणाकालीन दरबारको पुनर्निर्माण गर्न टेन्डर गर्ने अन्तिम चरणमा छ । दरबार पनि त्यही दिन शिलान्यास गरिँदैछ । जसको लागि प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरिसकेको छ । १४ ढोका र ५६ झ्याल भएको उक्त विशाल दरबार पुनर्निर्माण भइसकेपछि के गर्ने त्यसलाइ कसरी उपयोगमा ल्याउने रु उक्त दरबारमा संग्रहालय स्थापना गर्दा हुँदैनथ्यो रु दरबार अहिले बन्ने संग्रहालयभन्दा दोब्बर ठूलो र २ तलाको हुनेछ । तर, गढीमा नयाँ भौतिक संरचना निर्माणको प्रतिस्पर्धाले यसरी कुरुप बनाइँदै छ । एकदेखि अर्को सरकारी निकायबीच नै समन्वय छैन । गढीमा धेरैभन्दा धेरै संरचना बनाउने, उद्घाटन गर्ने र शिलालेखमा आफ्नो नाम राख्ने होडबाजी चलेको छ । जसबाट पुरातात्विक मर्यादामा भने चोट पुगेको छ ।
विजय उत्सवको भ्रम
विभिन्न सरोकार निकायको सक्रियतामा २०७६ सालदेखि हरेक वर्षको कात्तिक २४ गते अग्रेजसँग युद्ध जितेको अवसरमा विजय दिवस मनाउने गरिएको छ । गढीको प्रचारप्रसार र इतिहासको सम्मानमा यो प्रशंशनीय कार्य हो । तर सिन्धुलीगढीमा युद्धको मिति यकिन गर्न अध्ययन र छलफल हुँदा असोज १५ गते विजय हासिल गरेको तथ्य प्रमाणित भइसकेको छ । गढीको युद्ध सम्बन्धमा समृद सिन्धुली अभियानले पर्यटन बोर्डको हलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्त र नेपाली सेनाका पूर्व महासेनानी एवं गढी तथा किल्लामा विद्याबारिधि गरेका डा। प्रेमसिंह बस्न्यातले सिन्धुलीगढीम अंग्रेजलाइ गोर्खाली सेनाले असोज १५ गते नै परास्त गरेको पुष्टि गरेका छन् । कमलामाई नगरपालिकाले २ वर्ष अगाडि स्थापना गरेको स्मारकमा समेत असोज १५ मै विजय भएको लेखिएको छ । इतिहासको तथ्य बाहिर आइसक्दा समेत कात्तिक २४ गते नै विजय दिवस मनाइरहँदा त्यसले इतिहास तोडमोड हुने चिन्ता बढेको छ ।
विजयउत्सव वर्षभरी मनाउन सकिन्छ तर विजय दिवस यकिन मितिमै मनाउनुपर्छ । असोज १५ गते कुनै कार्यक्रम नगर्ने र स्थानीय सरकारले सार्वजनिक बिदा दिएर कार्तिक २४ गते विजय दिवस मनाइरहँदा ऐतिहासिक तथ्यलाई गलत सावित गर्ने प्रयास भएको देखिन्छ ।
कमलामाई नगरपालिकाले मेयर, सेनाकाे जर्नेल र कर्णेलकाे नाम टांग्न प्रहरी चाैकी मासेर बनाइएकाे पार्कमा राखिएकाे स्तम्भकाे शिलालेख । यसमा पनि बिजय दिवस असाेज १५ मै भनिएकाे छ
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab