नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL)बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली NCHL-IPS)को उपयोगिता बृद्धि भईरहेको अवस्थामा प्रणाली मार्फत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका बृद्धि गरिएको छ । सोही व्यवस्था अनुसार NCHL-IPS प्रणालीमा बिहानको ९ः०० बजे देखि दिनको ३:०० बजेसम्म (आईतबार देखि बिहिबार सम्म नेपाली मुद्रा, र सोमबार देखि बिहिबार सम्म वैदेशिक मुद्रा)प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा नै फर्छौट हुने व्यवस्था यही आश्विन ०४, २०७८ देखि लागु हुने भएको छ । यस अघि बिहानको १०ः०० बजे देखि दिनको १:०० सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने गरेको थियो । उक्त समय सीमा बृद्धी पछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् रहने छ । त्यसै गरी दिनको ३:३० बजेसम्म प्राप्त भएका बैकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् ।शुक्रबारको दिन १२ः३० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाईएको छ । हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढे सँगै NCHL-IPS मा बृद्धी भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास गरिएको छ ।NCHL-IPS मार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीयसरकारी भुक्तानीहरु, सप्लायर, पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ । हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । यस प्रणाली मार्फत प्रति कारोबार रु २० करोड सम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी रु ३० करोड सम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी रु ५० करोडसम्म र सरकारी भुक्तानी रु २ अर्ब सम्म गर्न सकिन्छ । हाल NCHL-IPS मार्फत भुक्तानी कारोबारहरु बैंक⁄वित्तिय संस्थाको शाखा, कर्पोरेट⁄बिजनेस च्यानल, CORPORATEPAY प्रणाली तथा नेसनल पेमेन्ट्स इन्टरफेस(NPI) लगायतका च्यानलहरु मार्फत गर्न सकिन्छ । हाल NCHL-IPS को कारोबार शुल्क रु २ देखि रु १० सम्म रहेको छ । एनसीएचएलले हाल NCHL-ECC, NCHL-IPS, Connect IPS, Connect RTGS, NPI र CORPORATEPAY लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ, जसमा नेपाल राष्ट्र बैंक लगायत सबैजसो बैंक वित्तिय संस्थाहरु आबद्ध छन् ।